काठमाडौं- लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीको स्वास्थ्य परीक्षण गरिएको छ । प्रारम्भिक परीक्षणमा उनलाई डिप्रेसनको लक्षण देखिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
ओलीको स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा चेकजाँच गरिएको हो । राज्यमन्त्री वलीलाई गएराति दाङबाट बुटवल लगिएको थियो । बुटवल लैजाँदै गर्दा वलीले अधिकांश समय ‘एकराज खोइ ?’ भन्दै बर्बराएको माओवादी स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार वली अर्धचेत अवस्थामा पुगेपछि उनलाई राति नै लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । विमलालाई राति उपचार सुरु गरिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डाक्टर इन्द्र ढकालले पुष्टि गरे ।
‘मन्त्रीज्यूलाई राति अस्पताल ल्याइएको थियो’, मेसु ढकालले भने, ‘अवस्था हेर्दा भर्ना गरेरै उपचार गर्नुपर्ने थियो । तर, उहाँले भर्ना हुन मान्नुभएन ।’
उनलाई अर्धचेत अवस्थामा राति अस्पताल ल्याइएको मेसु ढकालले बताए । डाक्टर ढकालका अनुसार वलीमा ब्लड प्रेसर र सुगरको समस्या पनि देखिएको छ ।
डिप्रेसनको लक्षण देखिए पनि विशेषज्ञ डाक्टरले चेकजाँच नगर्दासम्म केही भन्न नसकिने डा.ढकालको भनाइ छ ।