नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पालामा नेपाल भित्रिएको बताएका छन्।
भरतपुर महानगरपालिकाले शुक्रबार गरेको ‘समृद्ध भरतपुर महानगरपालिकाको आगामी कार्यदिशा’ विषयक अन्तर्क्रियामा बोल्दै अध्यक्ष प्रचण्डले एसपिपी नेपाल भित्र्याउने ओली भएकाले उनको राष्ट्रवादी ढोँगको पछि नलाग्न आग्रह गरे।
‘सन् २०१९ मा इण्डो प्यासेफिक स्ट्राटिजीको बारेमा भ्रामक चिज पनि केपी ओलीजीकै पालामा भएको हो, एसपिपी भन्नेलाई पनि छिराएको केपीले नै हो,’ उनले भने, ‘अब यो प्रमाणित भइसक्यो। उनकै पालामा चिठी गएको प्रमाणित भइसक्यो।’
यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको तत्कालीन सरकार भएको बेला अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई पठाएको पत्रबारे आफू अनविज्ञ रहेको जिकिर गरेका छन्।
ओली नेतृत्वको सरकारको पालामा तत्कालीन प्रधानसेनापति राजेन्द्रबहादुर क्षेत्रीले एसपीपी स्वीकार्ने गरी अमेरिकी सरकारलाई पत्र लेखेको भनिए पनि ओलीले यसबारे आफूलाई कुनै जानकारी नभएको दाबी गरेका हुन्।