नेपाल एसिसी महिला टी २० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
मलेसियामा जारी प्रतियोगिता अन्तर्गत सोमबार समूहको आफ्नो तेस्रो खेलमा बहराइनलाई ८ विकेटले हराउँदै नेपाल एक खेल अगाडिनै अन्तिम चारमा प्रवेश गरेको हो।
बहराइनले दिएको १५ रनको सामान्य लक्ष्य नेपालले २ विकेट गुमाएर ३.४ ओभरमा पुरा गर्यो। नेपालका लागि सीता राना मगरले ४ तथा कविता जोशीले ३ रन बनाए। नेपालले अतिरिक्तबाट ८ रन जोडेको थियो।
यसअघि किनरारा एकेडेमी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै १४ रन बनाएको थियो। उसका लागि ईशारा सुहुनले सर्वाधिक ६ रन बनाएकी थिइन्।
नेपालका लागि कविता कुँवर र सबनाम राईले २-२ तथा अस्मिना कमाचार्यले १ विकेट लिइन्। खेल निर्धारित समय अनुसार बिहान ८ : १५ मा सुरू हुनुपर्ने थियो। तर वर्षाको कारण समयमै सुरू हुन नसक्दा खेल ७-७ ओभरमा छोट्याएको थियो।
समूह चरणको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो। यस्तै दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो। यो जितसँगै नेपाल समूह बी मा ३ खेलबाट ६ अंक जोड्दै शीर्षस्थानमा छ।
यस्तै दोस्रो स्थानमा रहेको हङकङले २ खेलबाट ४ अंक जोडेको छ। कुवेत र बहराइनले समान १-१ अंक जोड्दा भुटान अंकविहिन पुछारमा छ। यो सँगै नेपाल शीर्ष दुईमा रहँदै सेमिफाइनलमा पुगेको हो। समूह ए मा युएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन्।
फाइनल पुग्ने दुई टोली एसिया कप महिला टि २० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछन्