प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले भेट गरेका छन् ।
अध्यक्ष ओलीको निवास भक्तपुर बालकोटमा भएको भेटमा नागरिकता विधेयक चालू संसद्मा दलीय सहमतिमा अगाडि बढाउने विषयमा कुराकानी भएको गृहमन्त्री खाणले बताए ।
‘नागरिकता विधेयक सदनमा अगाडि बढाउने र दलीय सहमतिमा पास गर्ने प्रयासस्वरुप म र कानुन मन्त्री प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गएका थियौँ । कुराकानी सकारात्मक भएको छ,’ गृहमन्त्री खाणले भने ।
गृहमन्त्री खाणका अनुसार ओलीले नागरिकता विधेयक, नागरिकता सम्बन्धि अध्यादेश लगायतका विषयमा अध्ययन गर्न आवश्यक रहेको बताए । नागरिकता विधेयक अगाडि बढाउने कुरामा एमाले तयार रहको ओलीले बताएका थिए ।
सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसद्मा पेस गरेर पास गर्ने तयारी गरिरहेको छ । त्यसकै लागि गृहमन्त्री खाण र कानुनमन्त्री शर्माले एमाले अध्यक्ष ओलीलाई भेट गरेका हुन् । गृहमन्त्री खाणले नागरिकता विधेयकबारे पटक–पटक दलहरूसँग छलफल गरे ।
उनीहरूले यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पनि नागरिकता विधेयक सदनमा दलीय सहमतिमा पेस गर्न सहमति जुटाउन भेटेका थिए ।
नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधि सभामा पेस गरेको छ । नागरिकतामा नेपाली पुरुषसँग विवाह गरी आउने विदेश महिलालाई दिने अंगीकृत नागरिकतालगायतका दलहरूबीच सहमति जुट्न सकेको छैन ।
यसका लागि संसदमा प्रतिनिधित्व भएका सबै दलसँग निरन्तर गरिरहेको उनले बताए । नागरिकता विधेयकका सन्दर्भमा गठबन्धनका दलभित्र पनि घनिभूत छलफल भइरहेको खाणले बताए । उनले भने, ‘राष्ट्रिय सहमतिका लागि छलफल भइरहेको छ ।
सहमति हुनासाथ नागरिकता विधेयक अगाडि बढ्छ । नागरिकता विधेयक अगाडि तयारीमा छ ।’