संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीमाथि गाली गलौज तथा हातपात गरेका छन्।
आलेले गरेको गालीगलौजसहितको अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को विरोध सुरु भएको छ। आले पटक पटक विभिन्न बहानामा आलोचित हुँदै आएका छन्।
उनले नेपाल एयरलाइन्सका अध्यक्ष अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएसँगै विवादमा तानिएका हुन्। मन्त्री आलेले नेपाल एयरलाइन्समा ठूलो मात्रामा मान्छे राख्न आफूले पठाएका व्यक्तिलाई जागिर दिन अह्राएका थिए।
अध्यक्ष अधिकारीले केहीलाई जागिर लगाइसकेका थिए। केहीलाई लगाउने प्रक्रियामा थिए। सार्वजनिक भएको अडियोमा मन्त्री आलेले अधिकारीलाई धम्की समेत दिएका छन्। यसअघि टेलिफोनमा समेत मन्त्री आलेले अधिकारीलाई अश्लिल गाली गर्दै धम्की दिएका थिए।
यसअघि पनि मन्त्री आलेले कामको सिलसिलामा भारतको मुम्बई पुगेका एक नेपाली युवकसँग गालीगलौज गरेको भिडियो सार्वजनिक भएको थियो। त्यतिबेला २ मिनेट २५ सेकेन्डको भिडियो सार्वजनिक भएको थियो।
त्यतिबेला आलेको राजीनामा समेत माग भएको थियो। मन्त्री आलेको सचिवालयले त्यतिबेला तथ्यहीन आरोप लगाउन खोजेको भन्दै खण्डन गरेको थियो।