नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको तत्कालीन सरकार भएको बेला अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई पठाएको पत्रबारे आफूलाई जानकारी नरहेको बताएका छन्।
ओली नेतृत्वको सरकारको पालामा तत्कालीन प्रधानसेनापति राजेन्द्रबहादुर क्षेत्रीले एसपीपी स्वीकार्ने गरी अमेरिकी सरकारलाई पत्र लेखेको भनिए पनि ओलीले यसबारे आफूलाई कुनै जानकारी नभएको जिकिर गरेका हुन्।
काठमाडौंमा आयोजित दुई दिने जनप्रतिनिधिको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा यसबारे धेरै प्रक्रिया अघि बढिसकेको बताए।
‘असोज ६ गते तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले रक्षा मन्त्रीको हैसियतमा पत्र लेख्न भन्नुभएको रहेछ। म असोज २४ गते प्रधानमन्त्री भएँ। कात्तिकामा यसलाई अन्तिम रूप दिइएको रहेछ,’ उनले भने, ‘यसबारे मलाई थाहाँ भएन। सायद, एमालेको सरकार बन्ने जस्तो भएपछि कांग्रेस नेतृत्वको सरकारले यसलाई अघि बढाइदिएको होला।’
प्रचण्ड प्रधानमन्त्री हुँदा समेत यसलाई अघि बढाइएको भन्दै ओलीले आफू दोस्रो पटक प्रधानमन्त्री भएपछि यसलाई रोकेको दाबी गरे। त्यो बेलाको परिस्थिति र अहिले गर्न लागेको सम्झौता फरक रहेको उनको जिकिर छ।
‘त्यो र अहिलेको चिज फरक हो। एमसिसी पारित भएपछि गठबन्धन सरकार हौसिएको होला। अहिलेको विषयलाई मिनिमाइज गर्न पहिलाको कुरा खोतालिएको हो,’ उनले भने, ‘यो १० बुँदे नयाँ हो। यहाँ अमेरिकी सेनाले तालिम केन्द्र सञ्चालन गर्ने हात हतियार प्रयोग गर्ने जस्ता विषय आएका छन्। यो हामीलाई स्वीकार्य छैन।’