काठमाडौँ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका घर भइ हाल हङकङ बसिरहेका धनराज गुरुङ मृत फेला परेको घटनालाई परिवारले शंकास्पद मानेका छन् ।
गुरुङ हङकङको किंसपार्कमा ठूलो र अग्लो रुखमा झुण्डिएको अवस्थामा गत ५ असारमा मृत फेला परेका थिए । इभिनिङ वार्कमा निस्किएका गुरुङको मृत्युको कारण स्पष्ट नभएकाले परिवारले घटनालाई शंकास्पद मानेका छ ।
गुरुङ आफैँ पनि ढाडको समस्याबाट पीडित थिए । त्यो अवस्थाको मान्छे रुखमा चढेर झुण्डिएको विषयलाई आफन्तले पत्याएका छैनन् । हङकङ प्रहरीले भने गुरुङको आत्महत्या भएको दाबी गरेको पीडित आफन्तको भनाइ छ ।
गुरुङको शव १० साउनमा काठमाडौं ल्याएर स्वयम्भुमा दाहसंस्कार गरिएको छ । तर, परिवारले उनको मृत्युलाई शंकास्पद ठानेपछि शव बुझ्नुअघि पाथेका समाज काठमाडौंको पहलमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै पत्रकार सम्मेलन गरेर सत्यतथ्य बुझ्न माग गरेको थियो ।
गुरुङको मृत्युको विषयमा नेपाल सरकार र हङकङ सरकारले थप अनुसन्धान र खोज गर्नुपर्ने परिवारको माग छ ।