काठमाडौँ- सारुक ताम्राकारको आत्महत्याको सत्यतथ्य छानबिनको माग चलिरहँदा फिल्म युनिटले नयाँ रहस्य उद्घाटन गरेको छ । युनिटका एक सदस्यका अनुसार ६ महिनाअघि अभिनेत्री नम्रता श्रेष्ठले सारुक र ‘ह्यासट्याग माया’का निर्देशक राजीव गुरुङलाई मध्यरातमा दोलालघाटको मसानघाटमा लगेर बुटी बाँधिदिएकी थिइन् । त्यो बुटी बाँधेपछि सारुक र राजीव गुरुङ नम्रताप्रति नतमस्तक हुने गरेको प्रत्यक्षदर्शीको भनाइ छ ।
मध्यरातमा कालो बोको पूजा गरेर तीनैजना त्यसको मासु खाएर फर्किएका थिए । फिल्म युनिटका सदस्यको यो कुरालाई सारुकका बुबा सानु ताम्राकारले पनि पुष्टि गरे । उनले आफूले केही समय पहिले छोरालाई सुनको सिक्री लगाउन दिएको तर आत्महत्याका बखत सिक्रिको ठाउँमा बुटी मात्र भेटेको उनले जनाए ।
निर्देशक राजीव गुरुङले सारुकको घटनापछि त्यो बुटी खोलामा मिल्काएका छन् । युनिटका सदस्यले आफूले यो कुरा थाहा पाएपछि तुरुन्तै खोलेर मिल्काउन लगाएको जानकारी गराए ।
राजीवले बुटी लगाएपछि केही फरक पर्यो कि परेन भन्ने कुरा चाहिँ आफूले भन्न नसक्ने बताए । यसैबीच नम्रता भने क्यानडा उड्न लागेको चर्चा चलेको छ । उनी केही समयपछि क्यानडा उड्ने कार्यक्रम भए पनि उनले टिकट सारेर भारतबाट उड्न लागेको चर्चा छ ।