काठमान्डौ। बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण कुमार चौधरी सहित ३ जना रिहा भएका छन्। आज केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार तिनै जनालाई रिहा गरेको हो।
सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पुरा गर्न सीआईबीलाई आदेश दिएको थियो । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ (६) बमोजिम अदालतले उक्त आदेश दिँदै प्रतिवादीहरुलाई २५ दिनसम्म नै हिरासतमा राखी अनुसन्धान गर्ने पर्ने सम्मको अवस्था नदेखिएको पनि ठहर थियो ।