काठमान्डौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियामै रहेको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार गोरखा पत्रकार समाज नेपालका पदाधिकारीसँगको भेटमा सोधिएको जिज्ञाशामा उनले भने, “त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ, सामाजिक सञ्जालमा आएको विषयमा कुनै सत्यता छैन ।”
पत्रकारिता जगतले सत्यतथ्य र विश्वसनीय सूचनामा विश्वास गर्नुपर्नेमा जोड दिँदै उनले सामाजिक सञ्जालमा आएका विषयलाई लिएर धारणा नबनाउन आम नागरिकलाई आग्रह समेत गरेका छन । आफू गोरखाबाट निर्वाचित भएको स्मरण गर्दै उनले गोरखाको समग्र विकासमा ध्यान दिइएको बताए ।
सरकार सुशासन, सामाजिक न्याय तथा आर्थिक समृद्धिको अभियानमा केन्द्रित भएको उल्लेख गर्दै प्रधानमनत्री प्रचण्डले सरकारले थालनी गरेको अभियानमा सञ्चार जगतबाट सहयोगको अपेक्षा गरिएको बताए ।”लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योग लगायत रुग्ण उद्योग सञ्चालन गर्ने प्रक्रिया अघि बढेको छ “उनले भने ।
भेटमा गोरखा घर भई राजधानीमा क्रियाशील पत्रकारले जिल्लाको विकास निर्माणमा ध्यान दिन प्रधानमन्त्री समक्ष आग्रह गरेका छन ।