काठमाडौँ। नेपालमा आगामी शुक्रबारदेखि अर्को पश्चिमी वायुको प्रभाव सुरु हुने मौसमविद्ले बताएका छन् । जसका कारण पश्चिम नेपालमा ‘राम्रै वर्षाको सम्भावना’ रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले बताएका छन् ।
पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, “शुक्रबार बेलुका फेरि अर्को पश्चिमी वायुको प्रभाव सुरु हुने र पश्चिम नेपालमा राम्रै वर्षा हुने देखिन्छ । शनिबार काठमाडौंलगायत देशैभरि पूर्णतया बदली हुने र केही भागमा (काठमाडौंमा पनि) हल्का वर्षाको राम्रो सम्भावना छ ।”
हाल देशमा पश्चिमी वायु साथै पश्चिमी न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
आज बुधबार बिहान देशको मधेस, लुम्बिनी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। बिहानको समयमा तराई तथा उपत्यका एक दुई स्थानमा हुस्सु/कुहिरोको लागेको छ।
आगामी २४ घन्टामा देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक दुइ स्थानमा हल्का हिमपातको सम्भावना रहेको साथै बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेको महाशाखाले जनाएको छ।