काठमाडौं – गायक दुर्गेश थापाले आफ्नै कार्यक्रममा घाइते भएका एक दर्शकलाई आर्थिक सहयोग गरेका छन्। काठमाडौंको बूढानीलकण्ठ नगरपालिकास्थित चुनिखेलमा केही दिनअघि भएको कार्यक्रममा अत्यधिक भीडका कारण बार भत्किँदा चार जना घाइते भएका थिए।
ती घाइतेहरुमध्ये तीनजनाको अवस्था सामान्य भए पनि एकजनाको खुट्टा फ्याक्चर भएको थियो। सो कुराको जानकारी पाएपछि दुर्गेश थापा उनीलाई भेट्न महाराजगञ्जस्थित टिचिङ अस्पताल पुगे।
चिकित्सकले घाइतेलाई कम्तीमा दुई महिना पूर्ण आराम गर्न सुझाव दिएपछि दुर्गेशले हालसम्म लागेको खर्च तिर्नुका साथै तीन महिनाको कोठा भाडा र रासन उपलब्ध गराउने घोषणा गरेका छन्। साथै, घाइतेका छोराको तीन महिनाको विद्यालय शुल्क पनि आफैंले तिर्ने प्रतिबद्धता जनाए।
उक्त घटनाबारे दुर्गेशले आयोजकलाई पनि जवाफदेही बन्न आग्रह गरेका छन्।
हाल दिनहुँ स्टेज कार्यक्रममा व्यस्त रहेका दुर्गेशका हरेक प्रस्तुतीमा हजारौँ दर्शक सहभागी हुन्छन्। ‘दुस्मन हेरेको हेर्यै’ जस्ता चर्चित गीतका कारण उनको लोकप्रियता थप चुलिएको छ।