काठमाडौं– आईसीसी क्रिकेट वर्ल्डकप लिग-२ अन्तर्गत जारी खेलमा नेपाल नामिबियासँग दुई विकेटले पराजित भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जितका लागि नेपालले दिएको १६९ रनको मध्यम लक्ष्य पछ्याएको नामिबियाले ४० ओभरमा आठ विकेटको क्षतिमा एक सय ७२ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।
नामिबियाका लागि गेराल्ड इरामसले सर्वाधिक ५२ रन बनाए भने जे जे स्मिथले नटआउट ३४ रन बनाए। यस्तै माइकल भन लिङ्गेनले ३१ तथा रुबेन ट्रम्पेलमनले १६ रनको योगदान दिए।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३७.१ ओभरमा १६८ रन बनाएको थियो। बलिङमा नेपालका लागि कुशल भुर्तेलले ५ ओभर बलिङ गर्दै २८ रन खर्चिएर ३ विकेट लिए भने दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल, ललित राजवंशी र कुशल मल्लले एक-एक विकेट लिए। ७ ओभर बलिङ गरेका राजवंशीले ४७ रन खर्चिए।
पहिले ब्याटिङमा नेपालका लागि आशिफ शेखले सर्वाधिक ५८ रन बनाए। उनले आउट हुनुअघि ६४ बल खेल्दै ८ चौका र १ छक्का प्रहार गरे।
यस्तै कुशल मल्लले ३६ रन बनाए। भीम सार्कीले २६ रन बनाउँदा कुशल भुर्तेल १८ रन बनाएर आउट भए। अनिल साह पनि आज शून्यमा आउट भए।
कप्तान रोहित ९ बल खेलेर शून्यमा आउट भए। उनलाई नामिबियाका लोप्टिइटनले क्याच आउट गराए। यसघि अनिल शाह र देव खनाल पनि खाता नखोली आउट भएका थिए।
जितसँगै तिन खेलबाट चार अङ्क बनाएको नामिबिया शीर्ष स्थानमा उक्लिएको छ । नेपालले तीन खेलबाट दुई अङ्क बनाएको छ । नेदरल्यान्ड्सको दुई खेलबाट दुई अङ्क छ । नेपाल सिरिजको पहिलो खेलमा नामिबियासँग चार विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई नौ विकेटले हराएको थियो । नेपालले यस सिरिजको अन्तिम खेल आइतबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।