काठमाण्डौँ । उखानै छ नी, ‘ज्यान बुढो भएपनि मन बुढो हुदैँन’ यो उखानको भाव वरिष्ठ गायिका ज्ञानु राणाको जीवनमा मिल्दो छ । २००६ सालमा काठमाण्डौँको ठमेलमा जनकेशरी धर्मराज थापाको पहिलो सन्तानको रुपमा जन्मेकी ज्ञानुको उमेर ७२ बर्ष पुगेपनि उत्तिकै ऊर्जासहित गीत गायनमा सक्रिय छिन् । उनी भन्छिन्, ‘उस्तै स्वर छ भने किन नगाउँ ? भन्ने नै हो । बाँचुञ्जेल अपनाएको क्षेत्रमा स्वर र स्वास्थ्यले साथ दिउञ्जेल नै सक्रिय हुन्छु ।’
ज्ञानुले बाबा धर्मराज थापाको गीत ‘जानी कहाँ हो राजै, बाटो देखाइदेऊ’बाट गीत गायन शुरु गरेकी हुन् । सो गीत रेडियो नेपालमा गाएपछि २० रुपैँया पारिश्रमिक पाएको अझै सम्झन्छिन्, उनी । भन्छिन्, ‘पहिलो गीतमै मैले २० रुपैँया पाएकी थिएँ । त्यो बेलाको खुसीको कुरै नगर्नु ।’ करिब ३ हजार गीतमा स्वर रेकर्ड गराएकी ज्ञानुले गीत रेकर्ड गराएवापत् बढिमा १० हजारसम्म पारिश्रमिक बुझेकी छिन् ।
उनी अहिले पनि रेकर्डिङमा सक्रिय छिन् । पछिल्लो पटक ‘मेरो लोभि आँखाले’ र ‘जाँउ कहाँ मन मेरो’सहित भजन गीत गाएकी छिन् । उनले गाएका हजारौँ गीतमध्ये अधिकांश लोक लयका छन् । उनको स्वर र गायकीबाट प्रभावित बनेका स्वरसम्राट नारायण गोपालले समेत गीत गाउन गरेको अफर ज्ञानु अझै सम्झिन्छिन् । ‘एकदिन नारायण गोपालज्यूले मलाई तिमिसँग गीत गाउछु, त्यसको लागि यूगल गीत बाबासँग मागेर ल्याउनु भन्नुभयो । म त खुसीले गदगद ! बाबालाई गीत लेख्न आग्रह गरे । बाबाले गीत लेखिदिनुभयो । त्यो बेला हामीले ‘शिरिमा शिरिमा कान्छा’बोलको गीत गायौँ ।’उनले भनिन् । जुन गीत लोकप्रिय बन्यो ।
ज्ञानुले बाबा धर्मराज थापाको गीत ‘जानी कहाँ हो राजै, बाटो देखाइदेऊ’बाट गीत गायन शुरु गरेकी हुन् । सो गीत रेडियो नेपालमा गाएपछि २० रुपैँया पारिश्रमिक पाएको अझै सम्झन्छिन्, उनी । भन्छिन्, ‘पहिलो गीतमै मैले २० रुपैँया पाएकी थिएँ । त्यो बेलाको खुसीको कुरै नगर्नु ।’ करिब ३ हजार गीतमा स्वर रेकर्ड गराएकी ज्ञानुले गीत रेकर्ड गराएवापत् बढिमा १० हजारसम्म पारिश्रमिक बुझेकी छिन् ।
ज्ञानु राणाको संगत नारायण गोपालसँग मात्र हैन्, गोपाल योञ्जन, प्रेमध्वज प्रधान, फत्तेमान राजभण्डारी, द्धारिकालाल जोशी, पाण्डव सुनुवार, कुमार बस्नेत लगायतका गीतकार, संगीतकार र गायकसँग संगत थियो । अहिले कुमार बस्नेत बाहेककाको निधन भइसकेको छ । उनले गाएको ‘शिरिमा शिरि’, ‘च्याङबा होई च्याङबा’, ‘मान्छेको माया’, ‘चौतारीमा’, ‘भिज्यो तिम्रो रातो पछ्यौरी’, ‘राम साँईला’, ‘भिमेश्वरको मेला’ लगायतका सयौँ गीत लोकप्रिय छन् ।
उनको खास नाम योगमाया थापा हो । उनी ज्ञानी स्वभावको भएर पनि परिवारमा मायाले ज्ञानु भन्न थालियो । पछि सोही नाम गायिकाको रुपमा लोकप्रिय बन्यो । राणा परिवारमा विवाह गरेपछि ज्ञानुको पछाडी राणा पनि थपियो । उनलाई कर्मघरबाट गीत गायनमा निकै गाह्रो भो । उनी भन्छिन्, ‘राणा परिवारमा गएपछि म माथी कन्ट्रोल गर्न थालियो । तर मेरो मनमा गीतप्रतिको श्रद्धा थियो । संगीत प्रतिको माया मोह थियो । कतिपय अवस्थामा झुटो बोलेर पनि रेडियो नेपाल पुग्थे । रेकर्डिङको आशमा म रेडियो नेपाल जान्थे ।’परिवारले गीत बौलाहको पदवी दिएको उनी सम्झिन्छन् । गाउन नछाडेपछि श्रीमान् पनि नियन्त्रण गर्न छाडेको ज्ञानुको भोगाई छ ।
नेपाली कलाकारमा अनुशासनको कमी रहेको गायिका राणाको बुझाई छ । ‘पछि संगीतमा आएकाले अग्रजलाई सम्मान गर्ने बानी निकै कमजोर छ । अन्य देशमा अग्रज कलाकारलाई दिइने सम्मान र इज्जत फरक छ ।’उनले भनिन्, ‘नेपालमा राज्यले पनि कलाकारलाई खास वास्ता गर्दैन् ।’ उनले गाएका थुप्रै गीत रिमेक गरिएको छ । तर उनलाई एक पटक सोधिएको छैन् । सम्बन्धीत कलाकारलाई एक बचन पनि नसोध्नु र गीत रिमेक गर्नु गलत भएको ज्ञानु बताउछिन् ।
कुराकानीको क्रममा ‘च्याङबा होई च्याङबा’ र ‘चौतारीमा’बोलको गीत खुलेर गाइन् । ७२ बर्षको उमेरमा पनि उनको गायकीमा कुनै खोट लगाउने ठाउँ भटिन्नथ्यो । ज्ञानुले उहि ऊर्जा र स्वरसहित गीत सुनाइन् । पछिल्ला लोक तथा दोहोरी गीत पनि ज्ञानुले सुन्छिन् तर उनलाई कमेन्ट गर्न मन लाग्दैन् । उनले भनिन्, ‘वास्तविक भाकाहरु रेकर्ड भएका छैनन् । कोठामा तयार पारिएका भाकाहरु मात्र बजारमा छन् । गाउँ गाउँको लोक गीत आउन छाड्यो ।’